
२९ चैत्र / बाँँके
सञ्चारिका समूह बाँकेको २३औँ स्थापना दिवसको अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा वार्षिक क्यालेन्डर विमोचन तथा ‘स्थानीय शासनमा महिला सहभागिता र सञ्चारिकाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाकि उप–प्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान,क्यालेन्डर विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको उप–प्र्रमुख सुवेदीले उद्घाटन गर्नु भएको थियो ।
उक्त अवसरमा बोल्दै उहाँले पितृसत्तात्मक समाजमा अहिले पनि महिलाले नेतृत्व गरेर हिड्न निकै कठिन भएको बताउनुभयो । उहाँका अनुसार राज्यका हरेक निकायमा महिला नेतृत्व न्युन छ । पत्रकार महिलाहरुले राज्यका हरेक तहमा सम्मानजनक महिला सहभागिताका लागि शसक्त रुपमा कल चलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । अहिलेको समयमा महिला सशक्तिकरणका लागि पहलकदमी आवश्यक रहेको उप–प्र्रमुख सुवेदीको भनाइ थियो ।
पत्रकार महिलाहरुको क्षमता विकासका लागि स्थानीय सरकार र व्यक्तिगत रुपमा सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष कल्पना शर्माले महिला पत्रकारहरुलाई निडर भएर आफ्नो क्षमता र दक्षतालाई प्रस्तुत गर्न आग्रह गर्नुभयो । वडाअध्यक्ष शर्माले समाजमा भएका सकारात्मक र नकारात्मक कुराहरुलाई सत्य तथ्य रुपमा प्रकाशन÷प्रसारण गर्नु मिडियाको दायित्व भएको बताउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गर्न सञ्चारिकाहरूको सक्रियता आवश्यक रहेको धारणा राख्नु भएको थियो । साथै,महिलामैत्री नीति निर्माण, बजेट विनियोजन, र कार्यान्वयनमा सञ्चार माध्यमले कसरी दबाब सृजना गर्न सकिन्छ भन्ने विषयमा पनि चर्चा गरिएको आयोजक सञ्चारिका समूह बाँकेले जनाएको छ ।
सञ्चारिका समूह बाँकेकी अध्यक्ष पवित्रा परियारले समूहको २३ वर्षे यात्राको संक्षिप्त विवरण प्रस्तुत गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, महिला अधिकारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।