सल्यान कर्णालीको पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

१६ असार, सल्यान

सल्यान जिल्ला कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअनुसार जन्मेदेखि १५ महिनासम्मका ३,८५९ बालबालिकाले सबै १४ प्रकारका खोप लगाएको पुष्टि भएपछि सोमबार औपचारिक घोषणा गरिएको हो।

जिल्लाका १० वटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता पुगेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला स्तरमा घोषणा गरेको हो। साथै, १६ देखि ५९ महिनासम्मका ८,१८८ बालबालिकामध्ये छुटेका ३३ जनालाई समेत खोप लगाइ पूर्णता दिइएको जनाइएको छ।

यो उपलब्धिमा स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवाला निकायको सक्रियता प्रमुख रहेको बताइएको छ। सल्यानलाई पहिलोपटक २०७९ भदौ १ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

कार्यक्रममा पूर्व मन्त्री भीम प्रकाश शर्माले स्वस्थ बालबालिका निर्माण नै खोपको मुख्य उद्देश्य भएको बताए। कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख डा.अजुर्न कुमार बुढाले एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पुरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको बताए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता थियो।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस