सल्यान खलंगाको नेवार संस्कृति जोगाउनका लागि शारदा नगरपालिकाको पहल


२१ असार, सल्यान ।
नेवार बाहुल्यता रहेको सल्यान जिल्लाको सदरमुकाम खलंगामा पछिल्लो समय जनसंख्या विस्थापनको क्रम तीव्र बनेसँगै यहाँको मौलिक नेवार संस्कृति, भाषा, कला, भेषभूषा र परम्पराहरू जोखिममा पर्दै गएका छन्। विशेषगरी रोजगारी, शिक्षा र अन्य अवसरको खोजीमा युवापुस्ताको पलायन बढेपछि गाउँ बस्तीहरू बिस्तारै रित्तिँदै गएका छन । यसको प्रत्यक्ष असर नेवार समुदायको सांस्कृतिक सम्पदामा पर्न थालेपछि शारदा नगरपालिकाले त्यसको संरक्षणका लागि पहल थालेको छ ।


संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै शारदा नगरपालिकाले हालै नेवार समुदायका अगुवा, बुद्धिजीवी, युवाहरू तथा महिला प्रतिनिधिहरूसँग विशेष छलफल कार्यक्रमको आयोजना गरेको छ । छलफलमा सहभागीहरूले खलंगामा नेवार समुदायको सांस्कृतिक पहिचान जोगाउन तत्काल संरक्षण योजना आवश्यक रहेको धारणा व्यक्त गरे ।


नेवारी भाषा सिकाउने कार्यक्रम सञ्चालन, परम्परागत जात्रा र पर्वहरूको नियमित आयोजना, नेवारी भेषभूषा र खानपानको प्रवद्र्धन, पुराना घरटहराको संरक्षण, युवा पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि जस्ता विषयमा छलफल गरिएको हो । छलफलमा सहभागी नेवार समुदायका अगुवाहरुले नगरपालिकाले आफुहरुको संस्कृति संरक्षणका लागि देखाएको चासो र चिन्तनको सम्मान गर्दै आफुहरु यस तर्फ लाग्ने बताए l


शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले स्थानीय सरकार सांस्कृतिक विविधताको सम्मान र संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै नेवार सांस्कृति संरक्षणका लागि काम गर्ने र त्यसका लागि नेवार समुदायको हातेमालो आवश्यक रहेको बताए ।
नेवार समुदायका बुढापाका तथा संस्कृति जान्ने व्यक्तिहरूको ज्ञान र अनुभव लिपिबद्ध गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ ।


खलंगा मात्र नभई श्रीनगरमा बसोबास गर्ने नेवार बस्तीमा पनि यस्तो खालको संरक्षण अभियान विस्तार गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।
नेवार समुदायको मौलिक सम्पदा बचाउन र भावी पुस्तामा हस्तान्तरण गर्न हालैको यो पहल एक सकारात्मक संकेतका रूपमा हेरिएको छ ।




प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस