
९ असार, सल्यान
त्रिवेणी गाउँपालिका, सल्यानले सोमबार सम्पन्न १७ औं गाउँसभा तथा अधिवेशनमार्फत आर्थिक वर्ष २०८२/०८३ को लागि गाउँपालिका उपाध्यक्ष सिता खड्का पुनले प्रस्तुत गर्नुभएको ४५ करोड ८४ लाख ४१ हजार ५८४ रुपैयाँको बजेट र गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन र उत्पादकत्व वृद्धि, किसानमुखी कार्यक्रम, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धिको संयोजनमा आधारित नीति मार्फत त्रिवेणीलाई समृद्ध, सशक्त र आत्मनिर्भर गाउँपालिका बनाउने अठोट व्यक्त गर्नुभयो।
कृषि र पशुपालन : आत्मनिर्भर अर्थतन्त्रको मूल आधार
‘घर–घरमा उन्नत पशु, हात–हातमा क्यान, टोल–टोलमा संकलन केन्द्र’ भन्ने नारासहित दूध उत्पादन र संकलन केन्द्र स्थापना गरिनेछ। कृषिमा रैथाने बाली (कोदो, फापर), चैते धान, वसन्ते मकै को प्रवद्र्धन, कृत्रिम गर्भाधान मिशन, उत्कृष्ट कृषक सम्मान, फलफूल विरुवा वितरण, तथा पकेट क्षेत्र विस्तार कार्यक्रम सञ्चालन हुनेछन्।
शिक्षा र युवासशक्तीकरणमा विशेष जोड
शिक्षामा ‘सिपमुलक दिन’, ‘क्यारियर काउन्सिलिङ’, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान, विद्यालय समायोजन र दरबन्दी मिलान जस्ता कार्यक्रम घोषणा गरिए। विद्यालयमा पोषण बगैँचा स्थापना र प्राविधिक तथा व्यवहारिक शिक्षातर्फ उन्मुख नीति ल्याइएको छ।

स्वास्थ्य सेवा २४ सै घण्टा : त्रिवेणी स्वास्थ्य चौकीको स्तरोन्नति
त्रिवेणी स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालमा स्तरोन्नति गरिनेछ। यहाँ गुणस्तरीय, सर्वसुलभ उपचार सेवा, विशेषज्ञ सेवा, २४ सै घण्टा सेवा सुरु गरिने बताइएको छ। १,४९० बाट २,००० घरधुरीमा एक घर–एक धारा विस्तार गर्ने योजनासमेत सार्वजनिक गरिएको छ।
रोजगारी, संस्कृति र पूर्वाधारमा चमत्कारी कदम
‘मिसन रोजगारी’ कार्यक्रमअन्तर्गत स्थानीय युवालाई स्वरोजगारतर्फ उन्मुख गराइनेछ। कला–संस्कृति संरक्षण, पालिका स्तरको संग्रहालय निर्माण, र ‘त्रिवेणी चिनारी’ पुस्तक प्रकाशनको पनि घोषणा गरिएको छ।
पूर्वाधारतर्फ यस बर्ष २ किमी सडक कालोपत्रे, ५ किमी नाला सहित ग्राभेल गर्ने , पालिकाका गौरवका आयोजना छनौट गरिसाना टुक्रे योजना अन्त्य गरिने नीति तय गरिएको छ ।

२८ विधामा अब्बल व्यक्तित्वलाई सम्मान
आर्थिक वर्ष २०८१÷८२ मा त्रिवेणी गाउँपालिकाबाट लोकसेवा, शिक्षक सेवा आयोग, एम.बि.बि.एस., फिजियोथेरापी, खेलकुद, साहित्य, संगित लगायतका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्ने २४ जना व्यक्तित्वलाई विशेष सम्मान गरिएको छ।
शैक्षिक उत्कृष्टता पुरस्कार वितरण
शैक्षिक सत्र २०८१ मा समग्र मूल्यांकनका आधारमा माध्यमिक तहमा नेपाल राष्ट्रिय मावि रेख (त्रिवेणी–४), आधारभूतमा सरस्वती आवि ठुलाचौर (त्रिवेणी–१) र प्राथमिक तहमा गायत्री प्रा.वि. ढोरचौर (त्रिवेणी–५) लाई उत्कृष्ट विद्यालय घोषित गर्दै सम्मान गरिएको छ।

कर्मचारी सम्मान : दक्षता र सेवा समर्पणको कदर
गाउँपालिकामा कार्यरत ६ जना कर्मचारीलाई स्थानीय सेवा नियमावलीअनुसार ‘स्थानीय सेवा पुरस्कार’ प्रदान गरिएको छ। सेवा, अनुशासन र कार्यदक्षताको मूल्याङ्कनका आधारमा यो सम्मान प्रदान गरिएको हो।
त्रिवेणी गाउँपालिकाले यस वर्ष प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट वास्तविक किसान, विद्यार्थी, स्वास्थ्यसेवा, संस्कृति तथा पूर्वाधारमा समान प्राथमिकता दिएको देखिन्छ । बजेटमाथि गाउँसभा सदस्यहरूले विविध विषयमा गहन छलफल गर्दै संशोधनसहित सर्वसम्मत रुपमा पारित गरेका छन्।