कर्णालीको एक मात्रै पालिका शारदा, जहाँ मानवजन्य लेदो र फोहोर व्यवस्थापन हुँदै


१९ असार, सल्यान l

सल्यानको शारदा नगरपालिकाले मानवजन्य लेदो तथा फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । यो कार्यक्रम सम्बन्धी समझदारी पत्रमा शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी र नेपाल नगरपालिका संघ(मुआन)का अध्यक्ष भीमप्रसाद ढुंगानाले हस्ताक्षर गरे । शारदा नगरपालिका कर्णाली प्रदेशका स्थानीय तहमध्ये बाट यो कार्यक्रमका लागि छनोट हुने एक मात्रै पालिका हो ।
शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले मानवजन्य लेदो तथा फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रमले नगरलाई सफा र व्यवस्थित राख्न सहयोग गर्ने बताए । उनले भने, यो कार्यक्रमले नागरिकलाई दिसा पिसाबको व्यवस्थापन गर्न सिकाउँछ,यो विषय शिक्षा, स्वास्थ्यसँग सम्बन्धित विषय हो ।’ यो कार्यक्रम नागरिकको सचेतनासँग जोडिने विषय भएको बताए ।
शारदा नगरपालिकाले मुआन र परियोजना प्राविधिक साझेदार वानको प्राविधिक सहयोगमा तयार हुने नगरस्तरीय दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी कुनै एक ऐन वा नियमावली वा कार्यविधि वा योजना वा नीति वा कार्यनीति परियोजना अवधिभित्र पारित गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ ।
नगरस्तरीय दिसाजन्य लेदो व्यवस्थापनका लागि सरसफाई नीति तथा योजना लागू गर्ने क्रममा शारदा नगरपालिकाले आफ्नो वार्षिक योजनामा कम्तीमा सरसफाई अन्तर्गत १५ प्रतिशत बजेट दिसाजन्य लेदो व्यवस्थापनमा लागि विनियोजन गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ । नगरस्तरीय दिसाजन्य लेदो व्यवस्थापनका लागि सरसफाई नीति तथा योजना लागू गर्न शारदा नगरपालिकाले आवश्यक भौतिक संरचना तथा जग्गा उपलब्ध गराउनुपर्ने पत्रमा उल्लेख भएको नगरप्रमुख प्रकाश भण्डारीले बताए ।
शारदा नगरपालिकाले यस परियोजना लागू गर्न आफ्नो कार्यालयमा वातावरण डेक्सको स्थापना गरी वातावरण सरसफाई शाखासँग सम्बन्धित कर्मचारीलाई परियोजना फोकल पर्सन नियुक्त गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ ।
नेपाल नगरपालिकासंघको संयोजनमा दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी कार्यक्रम खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग युनाटेड नेशनस ह्युमन सेटलमेन्ट प्रोग्रामको सहकार्यमा सातै प्रदेशका एक एक पालिकासँग यो कार्यक्रम संचालनको लागि सहमति भएको छ । सहमति कायम भएका पालिकामा ललितपुर महानगरपालिका मेचीनगरपालिका, लहान नगरपालिका, गोरखा नगरपालिका, घोराही उपमहानगरपालिका, गोदावरी नगरपालिका बीच यो समझदाभारी कायम भएको छ ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस