

सल्यान, २३ बैशाख ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रम अन्तर्गत शारदा नगरपालिका–२, खलंगामा सञ्चालित घरायसी सजावटका सामान तथा गुडिया बनाउने तालिम आज एक समारोहबीच सम्पन्न गरिएको छ।
उक्त तालिमको समापन समारोह जिल्ला स्तरीय कार्यक्रम सञ्चालन समितिका संयोजक तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख श्री बेलाराम रावलको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख श्री ध्रुव बहादुर खत्रीले गर्नुभएको थियो।

तालिममा शारदा नगरपालिकाका विभिन्न दलित समुदायका १२ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य सहभागी महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने रहेको जनाइएको छ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो। उहाँले तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्ने अपेक्षा राख्नुभएको थियो।