शारदामा आ.व. २०८१/०८२ को नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक

बैशाख २९, सल्यान

सल्यानको शारदा नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको नागरिक सन्तुष्टि सर्वेक्षण २०८१र०८२ को नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, नगर प्रवक्ता राजेश कुमार शर्मा, १५ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा नगर प्रमुख भण्डारीले नागरिक सन्तुष्टि सर्वेक्षणले नगरपालिकाको सेवा प्रवाह कत्तिको प्रभावकारी भयो, नागरिकमैत्री कत्तिको बन्यो र जनताले सेवा कत्तिको उपयोग गरे भन्ने मूल्याङ्कन गर्न मद्दत पुगेको बताउनु भयो। उहाँले शारदा नगरपालिकाले जिल्लामै पहिलोपटक यस्तो अभ्यास थालेकोमा गर्व व्यक्त गर्दै, प्रमुख प्रशासकीय अधिकृत देवकोटा र प्राविधिक सहयोग पुर्‍याएको बास नेपाललाई धन्यवाद दिनुभयो।

उक्त कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, प्रवक्ता राजेश कुमार शर्मा र वडा नं. ३ का अध्यक्ष तुल्सा भण्डारीले पनि सम्बोधन गर्नुभएको थियो।

शारदा नगरपालिकाले आफ्नो सेवा प्रभावकारिता मापनका लागि बास नेपालसँगको सहकार्यमा १५ वटै वडामा कुल १५०० नगरवासीहरुसँग सर्भेक्षण गरेको हो। ११ जना सर्भेक्षक परिचालन गरी उक्त अध्ययन सम्पन्न गरेको थियो।

यो अभ्यासले आगामी दिनमा नीतिगत सुधार र सेवा प्रवाहमा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस