
जेठ ७, सल्यान ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालु आ.व. २०८१/०८२ को स्वीकृत दलित आय–आर्जन कार्यक्रम अन्तर्गत शारदा नगरपालिका–६ मा सञ्चालित एक महिने एडभान्स सिलाइ कटाइ तालिम आज एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ।
तालिम समापन कार्यक्रम उद्योग कार्यालय सल्यानका कार्यालय प्रमुख श्यामलाल खरालको अध्यक्षता तथा शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटाको प्रमुख आतिथ्यता र वडा नं. ६ का वडाध्यक्ष भिकराज बुढाथोकीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त तालिममा शारदा नगरपालिका वडा नं. ६ र १५ का दलित समुदायका ८/८ जना गरी जम्मा १६ जना सहभागी थिए। तालिम प्रशिक्षण शारदा नपा–२ की दिपा खत्रीले दिनुभएको थियो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थी मिछा नेपालीले एक महिनाको तालिम अवधिमा पाँच प्रकारका डिजाइनका कपडा सिलाउने सीप सिकेको अनुभव साट्दै तालिमले आत्मनिर्भर बन्ने प्रेरणा मिलेको बताउनु भयो । उहाँले तालिम पश्चात व्यवसाय स्थापना गर्न सहयोग र प्रोत्साहनको लागि सम्बन्धित निकायहरूलाई पहल गर्न अनुरोध गर्नु भयो ।
समापन समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले प्राप्त सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर उद्यमीका रूपमा परिचित हुन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुका साथै आत्मनिर्भरता प्राप्त भएमा घरेलु हिंसाबाट पनि जोगिन सकिनेमा जोड दिँदै तालिमको महत्त्वपूर्ण उपयोग गर्न आग्रह गर्नु भयो ।
समापन समारोहका सभाध्यक्ष श्यामलाल खरालले सिलाइ कटाइ एक सम्मानित पेशा भएको उल्लेख गर्दै व्यवसाय दर्ता गराएर आगामी आवमा सञ्चालन हुने मुख्यमन्त्री दलित आय–आर्जन कार्यक्रम अन्तर्गत उपकरण तथा सामग्री सहयोग कार्यक्रमबाट लाभ लिन सकिने जानकारी गराउनु भयो । कार्यक्रमको सहजीकरण ध्रुव बहादुर खत्रीले गर्नुभएको थियो।