
बैशाख २४, सल्यान।
बागचौर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आयोजित निःशुल्क स्त्री रोग तथा महिला प्रजनन स्वास्थ्य शिविरबाट वडा नं. ८, ९ र १० का १७० जना महिला लाभान्वित भएका छन्।
शिविरको उद्घाटन वडा अध्यक्ष सुशीलजंग चन्दको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतम रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित नगरवासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको र गम्भीर प्रकृतिका केही रोगीहरू फेला परेकोले थप उपचारको लागि आवश्यक समन्वय गरिने बताउनु भयो ।
वडा नं. ८ का अध्यक्ष सुशीलजंग चन्दले ग्रामीण क्षेत्रमा महिलाहरूले रोग लुकाउने प्रवृत्ति रहेको र त्यसले गर्दा क्यान्सरजस्ता घातक रोगको जोखिम बढ्ने भएकाले शिविर प्रभावकारी बनेको बताए।
स्थानीयवासीहरूले गाउँमै औषधिसहितको सेवा पाएकोमा खुसी व्यक्त गरेका छन्। स्वास्थ्य उपचारका लागि काठमाडौँ वा अन्य शहर जानुपर्ने बाध्यता टरेको उनीहरूको भनाइ छ।
शिविर बुधबार काेटमौला स्वास्थ्य चौकीमा सञ्चालन गरिएको हो। शिविरमा स्त्री रोग परीक्षण तथा उपचार, यौन रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर (भीआइए) परीक्षण, महिलामा आङ खस्ने समस्या जाँचसहित निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख विनय डाँगीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सिता शर्मा, वडा सदस्य शुसिला कामी, स्वास्थ्य शाखा प्रमुख विनय डाँगी, स्वास्थ्यकर्मी धनबहादुर पुन, थारमारे प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख हिमाल भण्डारी, सविता डि.सी, राजकुमारी गिरी, कमला बुढा, शिक्षक अङ्गेश्वर डाँगीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण कोटमौला स्वास्थ्य चौकी प्रमुख दिपेन्द्र गिरीले गर्नुभएको थियो।


